विकृत नवशहरीकृत नगरीमा

शिक्षित समाजको सौन्दर्यभित्र
सभ्यताको अस्वाभाविक अभ्यासमा
विकास र आधुनिकीकरणतर्फ उन्मुख
ज्यूँदा मुर्दाहरुको शासन चल्ने
नव शहरीकृत विकृत नगरीमा
ढल्न नसकेका सामन्तवाद र
अर्धसामन्तवादका अखडाहरुमा
जहानियाँ भर्तीकेन्द्रहरुमा
कोही आत्मप्रचारक विज्ञापनहरु छपाएर
वर्गीय समाजको विपन्नतामा
पिछडिएकाहरुलाई
कमाण्डलु बनाएर
कोही मानवाधिकारका फोस्रा आदर्शभित्र
चारतारे झण्डा बोकेर
प्रतिक्रियावादीहरुको
साम्राज्यवादी षडयन्त्रमा साथ दिदै
आत्मघाती जासुसी जागिरमा
डलरे खेती गर्न तल्लीन छन् ।

विधिको बर्खिलापमा
उद्दण्डता प्रदर्शन गर्नेहरु
दण्डहीनताको किफायतीमा अभ्यस्तहरु
संक्रमणताको स्वादमा रमाउदैछन् ।
विलासितामा बिक्न बनेका वेश्यालयहरुमा
लुब्धदृष्टि लिएर लहसिने
स्त्रीलम्पट महापुरुषहरु
आफ्नै दिदी–बहिनी, भाउजुहरु र श्रीमतीहरु
बेच्न र खरीद गर्न लालयित छन् ।

स्वार्थै–स्वार्थमा
लोभै–लोभमा
नव–धनाढ्यको नामावली सूचीमा
आफ्नो नाम दर्ज गराउने होडमा
न्याय र नीतिका दलालहरु
पसिनाले पखालेर प्राप्त पवित्र पवित्र प्रतिफलहरुमा
गिद्धेनजर लगाएर
अख्तियारीको आडमा
आर्थिक चलखेलभित्र
अभिनयात्मक
न्यायको अवैध ब्यापार गरिरहेछन् ।

नैतिक चरित्र
न्याय–नीति
निर्दोषिता र
यथार्थ अभिब्यक्तिको
उपेक्षा र उपहास गर्दै
अनुशासन भाँड्नेहरु
गैह्रकानुनी गवाहीका आधारमा
सत्य र सवूतहरु नष्ट गर्ने प्रयासमा
असत्यको पक्षमा वकालत गरिरहेछन्
र अपराधीलाई अधिनायकताको अग्रपंक्तिमा उभ्याएर
सामन्तवादमा स्वार्थ देख्नेहरुले
विरालो पल्काईको शैलीमा
यथास्थितिवादको पूनस्र्थापनार्थ
पूर्वाभ्यासका प्रारम्भिक कसरत गरिरहेछन्,
क्रान्तियात्राको दमनका लागि
सर्वहारा वर्गका कुख्यात विरोधी बनेर ।
तर पनि
मौन आँधीखोला
निरीह भएर
मूकदर्शक बनेर
आफ्नै अगाडिका
स्पष्ट दृष्यभित्रका
सारा चर्तिकलाहरु
टुलु–टुलु हेर्न बाध्य छ ।

योगी स्मृतिरोगी राम गुरुङ ‘सर्वत्रापमानित’

#smritisangraha #smritirogi #smritibasti #smritikuti #smritishaiya

No comments:

Post a Comment