समयलाई चिन्न नसक्दा...

शिशिरयामको पतझड पातझैं म झरिगएछु
समयलाई चिन्न नसक्दा आज पछुताइरहेछु

जीवनमा केही गरुँला भन्ने संकल्प लिएर,
पर्दथ्यो लाग्नु, लक्ष्यमा आफ्नु दिलोज्यान दिएर
कर्तब्य भुली अन्यत्र लाएँ, आज यो घात पाएँ
समय फालें, पूरै यो जीवन बर्बादमा फसाएँ
विगतको गल्ती–ले पलपल ठक्कर खाइरहेछु
समयलाई चिन्न नसक्दा आज पछुताइरहेछु

ब्यक्तित्व निर्माण गर्ने त्यो बेला महत्व बिर्सिएँ,
जीवनको अर्थ बुझेको बेला एक्कासि तर्सिएँ
बर्बादै भयो यो जुनी अब आउँदैन फर्केर
अतित सम्झी पोल्छ यो छाती बारम्बार चर्र्केर
दिनानुदिन म, वास्तविकतामा फर्की आइरहेछु
समयलाई चिन्न नसक्दा आज पछुताइरहेछु

माता र पिता, गुरुको अर्ती त्यसबेला विष भो
प्रायश्चित भोग्दै छु आज मैले आफ्नै त्यो रिसको
समय, जाँगर–लाई सदुपयोग नगर्दा खेरिमा
पछुताउँदैछु अन्धकार मेरो जीवन हेरी म
एक गल्ती गरें बारम्बार मैले धोका पाइरहेछु
समयलाई चिन्न नसक्दा आज पछुताइरहेछु

शिशिरयामको पतझड पातझैं म झरिगएछु
समयलाई चिन्न नसक्दा आज पछुताइरहेछु

योगी स्मृतिरोगी रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’

No comments:

Post a Comment