गृहयुद्ध

 नेपाल आमा रोएको रोयै आठ वर्ष भएछ 

दिदी र बहिनी–हरुको सिउँदो ओइलेर गएछ 

दाजु र भाई युद्धमा उत्रे थाह छैन के छ चाल 

निर्दोष नारी अस्तित्व खोसियो स्थिति छ बेहाल 

अनविज्ञ होलान् ती दुबै पक्ष किन हो झगडा 

मुल्यांकन गर्न भनेर हो कि? को रैछौं तगडा 


लासका रास थुप्रन थाल्यो, खोल्सा, भीर, वनमा 

दुगन्ध फैल्यो, कुहेका लासका त्रास छ मनमा 

बुद्धको जन्म भएको देशमा अशान्ति फैलियो 

सुन्दर, शान्त, विशाल देश रगतले मैलियो 

बारुदको धुमले ढाकियो नभ, दिवा नि निशा भो 

देखिन्न पथ, अब देश कता? जाने कुन दिशा हो ?


आफूलाई चोट लागेर आमा अझै नि रुदैछिन् । 

स्नान गर्दा रक्तका धारले विचलित हुदैछिन् । 

‘के युद्ध गर्छौ? मिलेर बस’ आमाको पुकार 

भन्दछिन् आमा– “मुर्छित बाबु ! ती नयन उघार ।”

विलौना गर्छिन् त्यो मृत शरीर टाँसेर छातीमा ।

बुझ्दैनन् अझै सन्तानहरुले युद्ध छ रातिमा । 


हे दाजुभाई ! बुझ्नुहोस् नेपाल–आमाको पुकार 

छ शत विन्ती गर्दछु आग्रह, गर्नुहोस् स्वीकार ।

समझदारी–मा कायम गरी देशमा सुशान्ति 

हतियार सारा बिसाई गरौं, युद्धको विश्रान्ति 

थिचिन पुगी बनेको घाउमा मल्हम लगाऔं 

आठ वर्षदेखि रोएकी आमा–को मुहार हसाऔं ।


विषमतापूर्ण स्थितिमा भो सपूतको अपमान 

हिंसात्मक कार्य रोक्नको लागि निकालौं समाधान 

अस्तित्व जोगाऔं, तिनले देशको हालत देख्दा‘हुन् 

स्वर्गस्थलदेखि सुझावस्वरुप पत्र नि लेख्दा‘हुन् 

लाजले मर्नु, मनमुटाव अन्त्य, त्यो पत्र नपाउँदै 

सुशान्ति देशको कल्पना गर्दै विदा नि चाहूँ है ।

विदा नि चाहूँ है ।


रचनाकालः २०६० साल भाद्र २९ गते 

(माछापुच्छ्रे एफ एम ९१ मेगाहर्जको दोश्रो वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला कविता प्रतियोगितामा वाचित कविता ।)


#janayuddha #smritirogi #smritisangraha #smritibasti #smritikuti #smritishaiya #smritidiary #smritipath




No comments:

Post a Comment